‘पारि त्यो डाँडाँदेखि नीर जहिले’सम्मका सर्जक, जसलाई गीतको भिडियोले ठग्यो

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

जब गीत सुन्ने भन्दा हेर्नेको जमाना सुरु भयो, नेपालमा म्यूजिक भिडियो मेकिङ ह्वात्तै बढ्यो । अहिले त एल्बम भन्दा पनि एउटा गीत गाएर भिडियो बनाउने प्रचलन बढेको छ भन्दा फरक नपर्ला । युटुबको जमाना सुरु भएपछि चलचित्रमा पनि गीतको महत्व बढ्न थाल्यो । हुनत, पहिला पनि गीत स्तरिय नभएका होइनन् । तर, अहिले गीतसँगै भिडियो पनि उत्कृष्ट बनाउनुपर्छ भन्ने सोच विकास भएको छ । गीतको अडियो र भिडियो उत्कृष्ट भएको खण्डमा चलचित्रको प्रचारमा सजिलो हुन्छ भन्ने भावको विकास भएको छ । अझ यसौ भनौ, धेरै चलचित्र त गीतकै कारण चलेका पनि छन् । पछिल्लो समय ‘रेशम फिलिली, प्रेमगीत, नाई नभन्नु ल, पुरानो डुङ्गा, वडा नम्बर ६’ लगायतका चलचित्रका गीतले चलचित्रको व्यापारमा ठूलो भूमिका खेले । गीत तयार गर्ने एकजना संगीतकार पनि त्यसको दृश्य कस्तो बन्छ भन्नेमा धेरै सोच राख्छन् । आफूले बनाएको गीतको भिडियो पनि उत्कृष्ट बनोस् भन्ने चाहना उनीहरुको हुन्छ । धेरै संगीतकारले सायद यसैले पनि होला, गीत अनुसारको भिडियो भएन भनेर गुनासो पनि गर्ने गरेको पाइन्छ । पछिल्लो समय संगीतकार कालिप्रसाद बास्कोटा सर्वाधिक चर्चामा छन् । उनले संगीत भरेका चलचित्रका गीतले यति धेरै चर्चा पाउन थालेका छन् कि, देश तथा विदेशमा उनकै गीत घन्कन्छन् । चलचित्र ‘रेशम फिलिली’मा समावेश ‘पारि त्यो डाँडाँ माथि’ बोलको गीत भाइरल नै भयो । यसको अडियो मात्र सार्वजनिक भयो । गीतका कभर भिडियोहरु युटुबमा छ्याप्त छ्याप्ती तयार भए । तर, चलचित्र हेर्दा दर्शक हिस्स भए । कारण, चलचित्रमा यो गीतको भिडियो निकै फितलो तरिकाले प्रस्तुत गरियो । गीतको भिडियो कस्तो होला भनेर हल पुगेका दर्शक निराश भए । तर, गीतको अडियोले कालिप्रसादलाई स्टार बनाइदियो । कालिप्रसादले चलचित्र ‘पुरानो डुङ्गा’को लागि अर्को गीत तयार पारे, ‘नीर जहिले रिसाउने’ । दशैदेखि तिहार जस्ता चाडपर्वमा यहि गीत नै घन्कियो । देश तथा विदेशमा ‘नीर जहिले रिसाउने’ले खुबै चर्चा पायो । कालिप्रसादका यी २ गीतले चाडपर्वमा बलिउड गीतलाई नै विस्थापित गरिदिए । यहि, गीतका कारण दर्शक हलसम्म पुगे । तर, फेरि निराश भएर फर्किए । २ चलचित्रमा उत्कृष्ट संगीत भरेका कालिप्रसादका गीतले भिडियो भने गतिलो पाएनन् । गीतका कभर भिडियोहरु उत्कृष्ट बन्दा चलचित्रका मेकरले भने भिडियो बनाउन अल्छी गरे । साच्चै, यस्तो बेलामा एक संगीतकारले आफ्नो गीत मरेको महशुश गर्छ कि गर्दैन होला ? संगीतकार बाँस्कोटा भन्छन्-‘मेरा लागि गीतको भिडियो महत्वपूर्ण छैन । भिडियो युटुब, टीभी प्रमोशनका लागि तयार पार्ने हो । मेरो गीत भिडियोका कारण चलेको नै होइन । गीत र भिडियो एकैसाथ रिलिज हुँदा समस्या पर्न सक्छ । तर, मेरा गीतका अडियो पहिला सार्वजनिक भएका छन् र हिट भएका छन् । यसैले मलाई यसले असर गर्दैन ।’ उनले कहिल्यै पनि आफूले भिडियो राम्रो भएन भनेर गुनासो नगरेको बताए । भने-‘चलचित्रमा भिडियो कथा अनुसार तयार हुन्छन् । यसैले, मेरा चर्चित गीतका भिडियो पनि कथा अनुसार नै तयार भएका होलान् । यसमा मैले के गुनासो गर्नु छ र ?’ अनलाइनखबरसँग कुरा गर्दै कालिले भने-‘म त भिडियोसँग कुनै मतलव नै राख्दिन । राम्रो गानालाई नराम्रो भिडियोले पनि खास असर गर्दैन ।’ आफूले भिडियो कस्तो बन्ला भनेर गीत तयार गर्ने नगरेको उनले बताएका छन् । भिडियो कमजोर भयो भने त्यसको जस निर्देशकले पाउने भन्दै कालिले अडियो राम्रो बन्यो भने जस आफूले पाउने बताए । कालिप्रसादले तयार पारेका केहि गीतले बजारमा हंगामा मच्चाए । तर, ती गीतहरु अडियोमै चर्चित बने । हलसम्म दर्शक तान्न तीनै गीतको भूमिका उच्च रह्यो । तर, निर्माणपक्षले गीतले बजारमा आक्रामक तबरले चर्चा पाएपछि भिडियो बनाउने हिम्मत नै गर्न सकेनन् । गीत सुन्ने मात्र नभई हेर्नेहरुको जमात बढेको समयमा ‘पारि त्यो डाँडाँदेखि नीर जहिले रिसाउने’ सम्मका गीतहरुको भिडियो पनि आकर्षक तरिकाले निर्माण गरिदिएको भए, संभवत सुनमा सुगन्ध नै हुने थियो होला ।
Share this video :

Post a Comment