हिन्दू मन्दिरहरूमा दलितले बनाएको मुर्ती पुजिन्छ तर उनीहरूलाई त्यहाँ पस्न दिइदैन ,दलित मान्छे होइन ?

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

आजभोलि के गर्दै हुनुहुन्छ ? आजभोलि म उत्पीडनमा परेका मूलबासीहरूका लागि केही गर्न सकिन्छ कि भनेर चिन्तन गरिरहेको छु । उत्पीडनमा परेका समुदायलाई कसरी उत्थान गर्न सकिन्छ ? भनेर विभिन्न कार्यक्रमहरुमा भाग लिने र आफ्नो विचारहरु राख्ने गरिरहेको छु । त्यसोभए तपाईं मूलबासीहरूको आन्दोलनमा लाग्नु भएको हो ? म अहिले मूलबासी समुदायको अधिकार र मुक्ति आन्दोलनमा सहभागी भएको छु । तपाई मूलबासी आन्दोलनमा किन लाग्नु भएको हो ? मूलबासीहरूलाई कुनै पनि निर्णायक तहमा पुग्नै दिइदैन । मूलबासीहरूलाई निर्णायक तहमा पुर्‍याइयो र उनीहरूलाई अधिकार दिइयो भने हामीलाई नै खतम पार्न सक्छन् भन्ने सामन्ती विचार बोकेका मान्छेहरू सत्तामा छन् । मेरो आफ्नै बारे कुरा गर्नुपर्दा म प्रहरीमा ३० वर्ष जागिर खाएर मैले पाउनुपर्ने आइजीपीको पद नदिएर मलाई फ्याँक्ने काम गर्‍यो खिलराज रेग्मी नेतृत्वको सरकारले । आदिवासीको छोरी भएकै कारणले गर्दा मलाई त्यसो गरिएको हो । म रेग्मीको भान्जी भएको भए रेग्मीको नातेदार भएको भए आईजीपी हुन्थे । तर म उहाँको नातेदार पनि परिन र त्यतिबेला अरू चलखेलका कुराहरू पनि भइरहेको थियो । त्यसमा पनि म सहभागी भइनँ । त्यसो भए मूलबासीको छोरी भएकै कारण आफु बढुवा प्रक्रियामा नपरेको भन्ने तपाईको भनाइ हो ? सतप्रतिशत यही हो, कारण । किनभने म एउटा आइजीपी हुने मान्छेलाई नदिएर म भन्दा एकवर्ष जुनियर डीआइजीलाई एआइजी बनाएर आइजी बनाइयो । वर्तमान प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको एउटा आँखा पनि छैन । उहाँ अपाङ्ग हुनुहुन्छ भन्छन् नि, के हो ? रेग्मी सरकारले शारीरिक परिक्षण गराएर बढुवा गर्नुपर्थ्यो । जे गरेको हो, जातले गरेको हो । अर्यालको ठाउँमा कार्की, गुरूङ वा अरू कुनै समुदाय भएको भए पनि पाउदैन्थ्यो, बढुवा । जबकि, नेपाल प्रहरीको सिपाहीमा त के भान्सेमा भर्ना हुँदा पनि प्लस टु र माइन टु भन्दा बढी पावरको मान्छे फिट हुँदैन भने कुनै पनि प्रहरी कर्मचारीलाई बढुवा दिँदा शारीरिक रूपमा फिट छ कि छैन भनेर हेरिनु पर्छ कि पर्दैन ? शारीरिक असक्त व्यक्तिहरूलाई हामीले सम्मान गर्नुपर्छ । तर, जो कोहीले पनि म शारीरिक रूपमा असक्त छु भनेर राष्ट्रिय आपाङ्ग महासंघबाट प्रमाणपत्र लिएर जागिर खानुपर्थ्यो नि । अहिलेको उपेन्द्रकान्त अर्यालसँग उहाँको एउटा ग्राजुएसन मात्रै छ । मैले पोष्ट ग्राजुएशन र अरू दुई विषयमा ग्राजुएशन गरेकी छु, एलएलबी गरेकी छु, अनि विभिन्न विदेशबाट ट्रेनिङहरू लिएकी छु । उहाँले पूर्वक्षेत्र जस्तो सुगम ठाउँमा बसेर कार्यसम्पादन गर्नुभयो भने मैले दुर्गम ठाउँमा बसेर काम गरेकी छु, जसले गर्दा प्रहरी नियमावली अनुसार त्यसै नै मेरो नम्बर बढी हुन्छ । मैले एक्स्ट्रा डिग्री गरेकी छु । स्वत मेरो नम्बर बढी हुन्छ । त्यसमाथि अन्तरिम संविधानमा के लेखिएको छ भने महिला, आदिबासी, पिछडिएका समुदायलाई प्राथमिकता दिने भनेको छ । एउटा आदिबासी त्यसमाथि महिला भएकोमा झन् म त प्राथमिकतामा पर्नुपर्ने हो । तर, मलाई प्राथमिकतामा पार्नु पर्दैनथ्यो न्याय मात्र दिए पुग्थ्यो । खाली विभेद नगरे मात्र हुन्थ्यो, मलाई न्याय चाहिएको थियो । नेपालमा जन्मेर हामी दोस्रो दर्जाको नागरिक भएर किन बस्नुपर्ने ? यो प्रश्नको उत्तर खोज्न म आन्दोलनमा लागेकी हुँ । । संविधान निर्माण कार्यमा राजनीतिक दलहरूबीच सहमति हुन सकिरहेको छैन । तपाईको बिचारमा यो राजनीतिक गतिरोध उत्पन्न हुनुको खास कारण को हो ? नेताहरूको दरिद्र मानसिकताले गर्दा नै सहमति हुन नसकेको हो । मेरा भान्जा मेरा भतिजा सबै माथिल्लो तहमा छन्, यिनीहरूलाई किन दिने ? भन्ने दरिद्र मानसिकता र पहिचान विरोधी नेताहरू भएकाले सहमति हुन नसकेको हो । अहिले पहिचानको मुद्दा सबैतिर उठेको छ । मैले के बुझेकी छु भने आदिवासीहरूले जातीय राज्य खोजेको होइन, राष्ट्रिय पहिचानसहितको राज्य खोजेको हो । राज्यको हरेक निकायमा समानुपातिक समाबेसी प्रतिनिधित्व र सहभागिता खोजेको हो । जहिले पनि निर्णायक तहमा तथाकथित उपल्लो वर्गका व्यक्तिहरूमात्र किन पुग्ने गर्छ? जुनसुकै ठाउँमा हेर्नुहोस् एउटा प्रमुख निर्णायक ठाउँमा उनीहरू मात्रै हुन्छन् । त्यसकारण, अहिले राष्ट्रिय पहिचानसहितको संघीयता भयो भने के हुन्छ भने सबैको पहिचान स्थापित हुन्छ, सबै संयन्त्रमा समानुपातिक र समाबेशी सहभागिता हुन्छ । पछिल्लो समय केहि नेताहरूले धार्मिक बिषयमा टिकाटिप्पणी गर्दै आइरहेको छ । नेपाललाई हिन्दु राज्य घोषण गर्नुपर्छ भन्ने सम्बन्धमा तपाईको के भनाई छ ? धर्म र संस्कृतिले विभेद गरिनु हुँदैन भन्ने मेरो मान्यता हो । कुनै धर्मले यहाँ विभेद गरेको छ । हिन्दू मन्दिरहरूमा दलित पस्नु नहुने रे । बाहुन, राई, दलित, मगर सबैको रगत त रातै हुन्छ । दलित मान्छे होइन ? दलितले बनाएको मुर्ती मन्दिरमा पुजिन्छ तर उनीहरूलाई त्यहाँ पस्न दिइदैन । यस्तो विभेद भइरहेको छ । धार्मिक आस्था आ-आफ्नै हुन्छ, धर्मको नाममा मान्छेमाथि विभेद गरिनु हुँदैन । अब माघ महिना आउँदैछ । स्वस्थानी पढ्ने बेला भयो । स्वस्थानीमा के भनिन्छ भने ‘७० वर्षका शिव शर्मा ब्राम्हणले ७ वर्षकी गोमा ब्राम्हणीलाई विवाह गरे’ रे । अहिलेको जमानामा पनि त्यस्तो पढ्ने ? १६ वर्ष मुनिको बच्चालाई विहे गर्ने वित्तिकै त्यो त सिधै बलात्कार केसमा परिहाल्छ । अनि धर्मको नाममा यस्ता संस्कारलाई अझै कायम गरिरहने ? हिन्दू धर्मको यस्ता विषयहरूलाई परिमार्जित गरी लैजानुपर्छ भन्ने मेरो मान्यता हो । नेपाल धर्मनिरपेक्ष राष्ट्र भए पनि अझैपनि गाई गोरू काटेको आरोपमा नागरिकहरूलाई पक्राउ गर्ने र दुःख दिने काम भइरहेको छ । यसलाई तपाई कसरी लिनुहुन्छ ? यो गलत हो । नेपाल धर्मनिरपेक्ष राज्य भइसकेपछि सबैले आ-आफनो धर्म संस्कृति अनुसार काम गर्न पाउनुपर्छ । कानुनले यसलाई दण्डनीय ठान्नु हुँदैन । संविधान भनेको नेपालको मूल कानुन हो । मूल कानुनलाई आधार मानेर अन्य कानुनहरू बन्छन् । समय अनुसार कानुन संशोधन गरिदै लैजानु पर्ने हुन्छ । राष्ट्रिय पहिचान सहितको संघीयताका लागि आन्दोलन सुरू भएको छ । तपाई यसलाई कसरी हेरिरहनु भएको छ ? यो आन्दोलनलाई सफल बनाउनुपर्छ । यसले आदिबासीको एजेन्डा बोकेको छ । किनभने यो देशमा सबै जनताले समान अधिकार पाउनुपर्छ । राष्ट्रिय पहिचानसहितको संघीयता जातीय राज्य होइन । सामन्ती सोंच भएकालेले जातीय राज्य भनेर भ्रम फिजाइरहेका छन् । हामी सबै मिलेर त्यसको प्रतिकार गर्नुपर्छ । यो मुलुकको सबै समुदायले समान अधिकार र अवसर पाउनुपर्छ । सरकारले त आदिवासी आन्दोलन दबाउन कडा कदम चाल्ने तयारी गरिरहेका छन् नि ? आन्दोलन गर्नेहरूले पनि जुनसुकै मूल्य चुकाउन तयार हुनुपर्छ । टेबुलमा वार्ता गरेर समझदारी भएन भने छुट्टै रणनीति बनाएर पनि जानुपर्ने हुन्छ । तपाईं पछिल्लो समय आदिवासीहरूको कार्यक्रममा खुब हिडिरहनु भएको छ । अब यसैगरी राजनीतिमा लाग्नु भएको हो ? हैन । राजनीतिमा लाग्ने भा म कुनै एउटा पार्टीमा गइहाल्थे नि । म कुनै पार्टीमा लागेको छैन । त्यसो भए तपाईंको अहिलेको परिचय के हो ? म समाजसेवी हुँ । म पूर्व कर्मचारी । आदिवासी र उत्पीडनमा परेको समुदायको अधिकारका लागि लडिरहने व्यक्ति हुँ । भविश्यमा कुनै पार्टीमा लागेर सक्रिय राजनीतिमा आउने हो ? भविश्यको कुरा त के थाहा हुन्छ । सबैको सहभागिता हुनेगरी छुट्टै पार्टी पनि जन्मन सक्छ कि (हाहाहाहा…) । तपाईहरू सबैले साथ दिनु भयो भने के थाहा (फेरि हाँसो) । आदिबासी समुदायको अधिकारको लागि भनेर थुप्रै पार्टीहरू बनेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी पहिल्यै खोलिएको थियो, अहिले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पनि आदिबासीहरूकोको मुद्दा बोकिरहेको छ । परशुराम तामाङदेखि लिएर पूर्वमा लिम्बुवान, खम्बुवान, किराँत जनवादी वर्कस पार्टी जस्ता थुप्रै पार्टीहरू छन् । अहिले भएकै पार्टीहरूबाट आदिबासी समुदायको मुक्ति हुन सक्दैन र ? मलाई चाहिँ कस्तो लाग्छ भने पार्टी भन्नाले पार्टीमा लाग्ने जो कोहीको पनि भावना निस्वार्थ हुनुपर्छ । कुनै पार्टीमा विभिन्न प्रतिष्ठित पद पाइएला कि भनेर लाग्नु भन्दा पनि त्यो या यो दलले कस्तो एजेण्डा बोकेको छ ? भन्ने कुरा महत्वपूर्ण हुन्छ र त्यस्ता दलहरूमा कलंकित मान्छेको जमात छ कि छैन भनेर हेरिनुपर्दछ केबल दल मात्र परिवर्तन गरेर हुँदैन । चोखो हुन त मन पवित्र हुनुपर्छ भन्ने लाग्छ, मलाई । त्यसो भए पदको लागि नै आदिबासीहरूको पार्टी बनेका हुन् ? त्यस्तो पनि होइन । तिन-चार पुस्तासम्म एउटै समुदायले पदलाई छेपारोले घोचो समातेर बसे झैं बसेपछि विवाद आउनु स्वभाविकै हो । अर्को कुरा अपरिवर्तित एजेण्डा बोकेर सामन्तवादी सोंच र चिन्तनबाट मुक्त हुन नसक्ने दलहरूमा बसेर पनि झोले हुनु बाहेक अर्को के नै विकल्प रह्यो र । यथास्थितिवादी मानसिकता बोक्नेको पछाडि बसिरहने कुरो पनि त भएन नि, अग्रगामी विचारधारा बोक्ने व्यक्तिहरू । तपाईलाई राजनीतिक दलहरूले पनि बोलाइरहेको होला नि ? अँ, बोलाइरहेको पनि छ । तर म पदको पछि लाग्ने मान्छे होइन । म सिद्धान्तको पछि लाग्ने मान्छे हुँ । वास्तविकताको पछि लाग्छु । पद पाउनु ठूलो कुरा होइन । पदमा रहेर मैले जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिन ? भन्ने कुरो ठूलो हो । राजनीतिक पार्टीको पदधारण गरेर सीमित घेरामा बस्नुपर्‍यो भने विचारले स्वछन्दता पाउँदैन । आफुलाई सही लागेको कुरा बोल्न र लेख्न अनि कार्यान्वयन गर्न पाइदैन भने पदकोे के औचित्य रहन्छ र ? निर्देशनमा मात्र काम गर्नेहरू त प्रशस्तै छन् नि । अन्तिममा केही भन्नु छ ? नेपालको मूलबासीहरू विभाजित हुनुहुँदैन । विभाजन गराउन खोजिन्छ । तर, आफनो उद्देश्यमा प्रतिवद्ध हुनुपर्छ । अनि मात्र आन्दोलन सफल हुन्छ । फेरि त्यहाँ विभिन्न प्रलोभनमा परेर विभाजित भइयो भने आन्दोलन असफल हुन पनि सक्छ ।
Share this video :

Post a Comment